काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठकले सरकारले ल्याएका अध्यादेशबारे निर्णय गर्दै छ ।
संसदीय दलको बैठक अगाडि अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
सभापति देउवासँग नयाँ बानेश्वरस्थित संसद् भवनमा भेटे लगत्तै प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष यादवले भेट गरेका हुन् ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँग भेट पछि अध्यक्ष यादव पार्टी बैठकमा गएका छन् । शीर्ष नेताहरूको आग्रह समेतका आधारमा संसदीय दलमा छलफल हुने र उपयुक्त निर्णय लिने जसपा नेपालका नेताहरूले बताएका छन् ।
जसपा नेपालले अध्यादेशबारे अध्ययन गर्न गठन भएको उपाध्यक्ष राजकिशोर यादव नेतृत्वको कार्यदलले प्रतिवेदन तयार पारेको छ । जसलाई संसदीय दलको बैठकमा प्रस्तुत गरेर निर्णय गरिने बताइएको छ ।
बुधबार विज्ञसँगको छलफल सकिएपछि राजकिशोर यादवले आफूहरूको धारणा अध्यादेश अनुसार फरक फरक हुन सक्ने बताएका थिए ।
मन्त्रिपरिषद्को सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।
पुस २९ गते थप चार वटा अध्यादेश जारी भयो । माघ २ गते अर्को एउटा अध्यादेश जारी गरेको थियो । ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्दैछ । दुवै सभामा सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । जसपा नेपाल राष्ट्रियसभामा निर्णायक शक्ति देखिएको छ ।