काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको रूपमा रहेको काठमाडौं-तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति तथा विद्यमान चुनौतीहरूबारे जानकारी लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित उच्चस्तरीय बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा. युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल लगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा नेपाली सेनाका प्रतिनिधिहरूले आयोजनाको प्रमुख चुनौतीहरूबारे जानकारी गराए। विशेषगरी खोकना क्षेत्रमा लामो समयदेखि चलिरहेको जग्गा अधिग्रहणको समस्या र आयोजनाको मार्गमा पर्ने रुख कटान प्रक्रियामा भइरहेको ढिलाइबारे छलफल भयो। प्रधानमन्त्री ओलीले नेपाली सेनालाई जिम्मेवारी दिनुअघि पर्याप्त सोचविचार गरिएको बताउँदै सेनाले गुणस्तरीय निर्माण कार्य पूरा गर्नेमा विश्वास व्यक्त गरे। साथै, खोकना क्षेत्रको समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयलाई आवश्यक प्रस्ताव तयार गर्न निर्देशन दिए।
द्रुतमार्गको कुल लम्बाइ ७०.९७ किलोमिटर रहेको छ, जसको अनुमानित लागत रु २ खर्ब ११ अर्ब ९३ करोड छ। विसं २०७४ मा सुरु भएको यस आयोजना सन् २०२७ (२०७४ चैत) सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो, तर हाल संशोधित मिति अनुसार २०८३ चैतसम्म पूरा गर्ने लक्ष्य निर्धारण गरिएको छ। जङ्गी अड्डाका अनुसार हालसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति ३७.६ प्रतिशत तथा वित्तीय प्रगति ३९.७४ प्रतिशत रहेको छ।
राष्ट्रिय पूर्वाधार विकासको मेरुदण्डका रूपमा हेरिएको यस द्रुतमार्गको शीघ्र सम्पन्नताका लागि सरकार, सुरक्षा निकाय र सम्बन्धित निकायहरूबीच सहकार्य आवश्यक रहेको छलफलमा जोड दिइएको छ।