काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सहारा चितवन सहकारीको अभियोग दर्ता गर्ने जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलमाथि छानबिन सुरु भएको छ ।
अभियोग पत्र दायर गरेको केही घण्टामै मंगलबार नै सरुवा गर्ने निर्णय गरिसकिएको उनलाई बुधबार छानविनका लागि समिति गठन गरिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिएका छन् । नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो । समितिलाई अभियोजन पत्र अध्ययन गरेर त्रुटि भए नभएको यथासक्दो चाँडो प्रारम्भिक प्रतिवेदन बुझाउन भनिएको छ ।
लुइँटेललाई महान्यायाधिवक्ता कार्यालयमा तानेर उच्च सरकारी वकिल कार्यालय बुटवलका रवि न्यौपानेलाई चितवन पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय, चितवनले रविसहितका प्रतिवादीहरूलाई ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलले रविलाई भने संगठित अपराधमा मुद्दा नचलाउने निर्णय गर्दै अभियोग पत्र दायर गरेका थिए ।
मुद्दा कमजोर बनाएको आरोपमा लुइँटेललाई सरुवा गरेर अनुसन्धान अगाडि बढाइएको हो । आफूविरुद्ध ठगीको आरोपमा अभियोग दर्ता भएपछि लामिछाने बुधबार बिहानै अदालतमा हाजिर भइसकेका छन्। चितवन जिल्ला अदालतमा उनको बयान चलिरहेको छ ।
रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक थिए । उनलाई सोही कम्पनीमा गएको रकमको हकमा मात्रै बिगो कायम गरिएको छ ।
प्रतिवादीहरू जीबी भन्ने गितेन्द्रबाबु राई, सागर केसी, हेमन्त अधिकारी, आषिश आनन्द, भुपेन्द्र राई, अनन्तबाबु राई, देवेन्द्रबाबु राई, दिनेश रोका, छविलाल जोशी, कुमार रम्तेल, दिपक लामा र नेत्रपाणी बास्तोलालाई संगठित अपराध र ठगीको कसुरमा सजाय माग गरिएको छ भने रवि लामिछाने, वीरबहादुर रानाभाट, छत्रमणि भट्टराई, दिपा न्यौपाने, शिव प्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, कबिता तामाङ, नविन अछामी, भगवती बम्जन, असरफ अलि सिद्दिकी, विज्ञान राई, लक्ष्मीप्रसाद पौडेल, प्रगती श्रेष्ठ र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरुङलाई ठगीमा मात्रै प्रतिवादी बनाइएको छ ।
यसअघि रविलाई पोखराको सूर्यदर्शन सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा भने ठगी र संगठित अपराधमा पनि मुद्दा चलाइएको थियो र उनी धरौटीमा रिहा भएका थिए ।
लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको लुँइटेलले बताएका थिए ।