काठमाडौँ । सहारा चितवन सहकारीमा ठगी अभियोगमा मुद्दा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार चितवन जिल्ला अदालत उपस्थित भएका छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध मंगलबार मात्र चितवन अदालतमा मुद्दा दर्ता भएको थियो। लामिछानेको बयानका लागि जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा पेसी तोकिएको बताइएको छ ।
सहारा सहकारी प्रकरणमा ३२ प्रतिवादीमध्ये रविसहित २० जनालाई ठगीमा मात्रै र १२ जनालाई ठगी र संगठितको कसुरमा सजाय माग गरिएको छ ।
गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ८० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरिएको छ। लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक थिए । उनलाई सोही कम्पनीमा गएको रकमको हकमा मात्रै बिगो कायम गरिएको छ ।
प्रतिवादीहरू जीबी भन्ने गितेन्द्रबाबु राई, सागर केसी, हेमन्त अधिकारी, आषिश आनन्द, भुपेन्द्र राई, अनन्तबाबु राई, देवेन्द्रबाबु राई, दिनेश रोका, छविलाल जोशी, कुमार रम्तेल, दिपक लामा र नेत्रपाणी बास्तोलालाई संगठित अपराध र ठगीको कसुरमा सजाय माग गरिएको छ भने रवि लामिछाने, वीरबहादुर रानाभाट, छत्रमणि भट्टराई, दिपा न्यौपाने, शिव प्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, कबिता तामाङ, नविन अछामी, भगवती बम्जन, असरफ अलि सिद्दिकी, विज्ञान राई, लक्ष्मीप्रसाद पौडेल, प्रगती श्रेष्ठ र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरुङलाई ठगीमा मात्रै प्रतिवादी बनाइएको छ ।
यसअघि रविलाई पोखराको सूर्यदर्शन सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा भने ठगी र संगठित अपराधमा पनि मुद्दा चलाइएको थियो र उनी धरौटीमा रिहा भएका थिए ।