काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपाली नै आफ्ने ठूलो सपना भएको बताएका छन् । श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्ड स्कुुलद्वारा सोमबार आयोजित ‘युवा अन्तरक्रिया कार्यक्रम’ मा ‘नेपालको भलाइका लागि तपाईंले देखेको सबैभन्दा ठूलो सपना के हो ?’ भन्ने विद्यार्थीहरूको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् ।
प्रधानमन्त्री ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडी पर्नुपर्ने कुनै कारण नभएको वताउँदै विकासका पूर्वाधार बनाएर तथा आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प व्यक्त गरेका छन् ।
विदेशमा गएर नेपाली युुवाले अरुका देश बनाएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने ‘एक करोड युवा अहिले पनि स्वदेशभित्रै छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ, देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झण्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनााउनुपर्छ ।’
प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधिनमा बस्नु नपरेको स्मरण गराउँदै देशभक्तिलाई शीरमा बोकेर इमानदार बने विद्यार्थीहरू सफलतामा पुग्न सक्ने सुुझाव पनि दिएका छन् ।
नेपाल र चीनबीचको सम्बन्धबारे एक विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले चीन, भारतलगायत विभिन्न देशसँग मित्रवत् सम्बन्ध राख्दै आएको बताउँदै हालैको औपचारिक चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसियटिभको फ्रेमवर्क’मा सम्झौतालगायत विभिन्न सहकार्य विस्तार भएको बताएका छन् ।