चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ताको तयारी भएको छ ।
सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।
तथ्यतथ्यांक नमिलेको भन्दैं पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न भनेर फाइल फर्काएपछि प्रहरीले प्रक्रिया मिलाएर पुनः सरकारी वकिल कार्यालयमा एक साता अगाडिमात्रै फाइल पठाएको थियो ।
प्रहरीले पठाएको अनुसन्धान प्रतिवदेन र तिनका प्रमाणहरुको आधारलाई लिएर सरकारी वकिल कार्यालयले आज उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।
प्रहरीको अनुसन्धानमा ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
यसअघि लामिछाने सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटी तिरेर छुटेका थिए ।