काठमाडौँ । सेवाग्राहीसँग लिएको घुस रकमसहित रंगेहात समातिएका राष्ट्रिय किताबखाना (शिक्षक), छाउनीमार्ग तहाचल, काठमाडौँमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गत पुस १४ गते प्रसाईलाई ३ लाख रुपैयाँ घुससहित अख्तियारले नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा प्रसाईसँग कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेको पनि मिलेमतो पुष्टि भएको अख्तियारले जनाएको छ ।
अवकाशप्राप्त शिक्षकको नियमानुसार बन्नुपर्ने पेन्सनपट्टा (निवृत्तभरण अधिकारपत्र) बनाइदिनको लागि विभिन्न बहाना बनाई घुस माग गरी लिएको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ३ लाख रुपैयाँ बिगो कायम गरी आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।