विराटनगर । पाथिभरामा केबलकार निर्माणको विरोधमा मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा आह्वान गरेको छ । आज पहिलो दिन बन्दको प्रभाव सामान्य परेको छ ।
पहिचानवादीहरुले केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, काफ्ले पार्टीबाट सुरक्षा फौज फिर्ता गर्नुपर्नेलगायत माग राख्दै अरुणपूर्वका नौं जिल्ला (झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर) मा बन्दको आह्वान गरेका हुन ।
प्रहरीका अनुसार बन्दको प्रभाव ताप्लेजुङमा परे पनि अन्य जिल्लामा भने सामान्य मात्र परेको । केही ठाउँमा बन्दकर्ता सडकमा निस्किएका छन् । पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा बन्दको प्रभाव बढी छ । दुवै सडकमा यात्रुबाहक बस चलेका छैनन् । अन्यत्र सवारी साधन चलेका छन् ।
अहिले सुनसरीको धरान बसपार्क क्षेत्रमा ठूलो संख्यामा बन्दकर्ता जम्मा भएका छन् । धरान धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जाने मुख्य नाका हो। बन्दको कारण सवारी साधन नचल्दा अत्यावश्यक कामले हिँडेका यात्रुहरु अलपत्र परेका छन् ।
१५ गतेदेखि ताप्लेजुङ छिर्ने नाकामा अनिश्चित कालीन बन्दको आव्हान गरेका पहिचान पक्षधरहरूले आजदेखि दुई दिन अरुण पूर्वका ९ जिल्ला बन्द आव्हान गरेका हुन् । दुई दिने बन्दको पछि पनि माग सम्बोधन नभए अनिश्चितकालीन आम हड्ताल गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
एकसाता अघि पाथिभरा क्षेत्रको बलुडाँडामा प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएको थियो । झडपमा २१ प्रहरीसहित २६ जना घाइते भएका थिए । झडपमा २ जनालाई प्रहरीले चलाएको गोली लागेको थियो भने एक जना भाग्ने क्रममा गम्भीर घाइते भएका थिए । उनीहरुको उपचार काठमाडौंस्थित टिचिङ अस्पतालमा भइरहेको छ ।