मोरङ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्ने बताएका छन् । विराटनगरमा शनिबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेश सरकारले माग गरेका कानुनहरू छिटै निर्माण गर्ने गरी तयारी भइरहेको बताए । त्यसका लागि आफूले सरकारसँग नियमित समन्वय गरिरहेको सभामुख घिमिरेको भनाइ थियो ।
उनले संसद् सञ्चालनमा नरहेको बेला सरकारले अध्यादेश ल्याउने प्रचलन रहेको भन्दै हालै सरकारले ल्याएका अध्यादेश संसद्मा पेस भएकाले सोहीअनुसार छलफल गरेर निष्कर्षमा पुगिने बताए । ‘अध्यादेश संसद् नभएको समयमा ल्याइन्छ । यसपटक पनि संसद् सञ्चालनमा नरहेका बेला ल्याइएका अध्यादेश संसद्मा पेस भइसकेका छन्,’ उनले भने, ‘अब संसद् सञ्चालन भएपछि कि फिर्ता र कि छलफल हुन्छ ।’
सभामुख घिमिरेले विधेयकहरू लामो समयसम्म पारित नहुँदा आलोचना हुने गरेकाले अवधि तोकेर पारित गर्नेबारे छलफल भइरहेको जानकारी दिए । उनले संसदीय समितिमा १४ वटा विधेयक अहिले छलफलमा रहेको बताए ।
शनिबार नै प्रगतिशील लेखक सङ्घ नेपाल र भुँडीपुराण प्रकाशन काठमाडौंद्वारा विरानगरमा आयोजित कार्यक्रममा उनले मुलुकमा निरङ्कुशतालाई अन्त्य गरी लोकतन्त्रको स्थापना गर्न यस क्षेत्रका जनता, दलका नेता एवं कार्यकर्ताको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गरे ।
स्रष्टा जीवन घिमिरेद्वारा लिखित ‘कमरेड हिजो र आज’ पुस्तक कृतिको लोकार्पण गर्दै उनले सङ्घीय लोकतन्त्रको स्थापनामा प्रदेशका नेकपा एमालेसहित अन्य राजनीतिक शक्तिको योगदान उल्लेखनीय रहेको विचार व्यक्त गरे ।
सभामुख घिमिरेले समाजमा रहेका कुरीति र जातीय विभेद अन्त्य गरी समाज परिवर्तन गर्ने भूमिकामा प्रगतिशील लेखक सङ्घ लाग्नुपर्ने सुझाव दिए ।
एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबैको भूमिका जरूरी रहेको बताइन् । पुस्तकका लेखक एवं एमाले मोरङ इन्चार्जसमेत रहेका जीवन घिमिरेले प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा झापा, मोरङ र सुनसरीमा आफूसँग सम्बन्ध जोडिएका चार सय पात्रहरूको विवरण पुस्तकमा समावेश गरिएको बताए ।
कार्यक्रममा चन्द्र भण्डारी, निर्मला कोइराला, प्राडा रमेशप्रसाद भट्टराई र विमला दाहाल घिमिरेले पुस्तकको समीक्षा गरेका थिए । (रासस)