चितवन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर शुरु भएको दाबी गरेका छन् ।
नेकपा माओवादी केन्द्र चितवनले गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई मायाँ गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर शुरु भएको जिकिर गरेका हुन् ।
अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै उनले यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताए ।
आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरुले सरकारबाट हटाएको जनताले प्रष्टरुपमा बुझिसकेको उल्लेख गर्दै उनले पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गरिएको बताए ।
सरकारमा रहेर थालिएको सुधारको नयाँ थालनी, सरकारबाट निस्केपछि देशब्यापीरुपमा लिइएको पहलकदमी तथा सदन र सडकमा विपक्षी मोर्चाको तर्फबाट देश र जनताको पक्षमा लिइएको पहलकदमीले जनतामा नयाँ आशाको जागृत हुँदै गरेको उनले जानकारी दिए ।
अध्यक्ष प्रचण्डले लामो समयदेखि राजनीतिक आन्दोलनमा संलग्न नेताहरुको पार्टी प्रवेश र ध्रुवीकरणले माओवादी केन्द्रलाई बलियो बनाउने मात्र होइन, मुलुकै अग्रगामी रुपान्तरणका लागि महत्वपूर्ण योगदान पुग्ने बताए ।