काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदै छ । संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशनको पहिलो बैठक आज अपराहृन १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न लागेको हो ।
हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । संघीय संसद् सचिवालयले दुवै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आहृवान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै, सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन् । अधिवेशन सुरु भएको दिन यसअघि जस्तै दलीय आधारमा सदस्यले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने कार्यसूची छ ।
यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नेछन् । त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नेछन् । बैठकमा सभामुखले विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी, राष्ट्रिय सभाको बैठकमा उल्लेखित कार्यसूचीबाहेक मिडिया काउन्सिल विधेयक, २०८० र नवीरकणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । दुवै सदनमा विभिन्न विधेयक विचाराधीन हुनुका साथै थप नयाँ विधेयकसमेत दर्ता गरिएका छन् ।
संसद्मा संघीयता कार्यान्वयनसँग जोडिएका संघीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजन जस्ता महत्वपूर्ण विधेयक लामो समयदेखि विचाराधीन छन् । ती विधेयकमाथि सम्बन्धित संसदीय समितिहरूमा छलफल भइरहेको संसद् सचिवालयले जनाएको छ ।
आजबाट सुरु हुने हिउँदे अधिवेशनका लागि संसदीय समितिले अहिलेसम्म चारवटा विधेयक तयार पारेका छन् । त्यसबाहेक सरकारले जारी गरेका पाँचवटा अध्यादेश छन् । समितिमा विचाराधीन अन्य विधेयक संसद्मा पुग्छन् या पुग्दैनन् भन्ने टुंगो छैन । यसले विधेयक अधिवेशनका रूपमा लिइने हिउँदे अधिवेशनबाट पनि पर्याप्त कानुन बन्नेमा आशंका छ । अघिल्लो अधिवेशन अन्त्य भएको चार महिनासम्म पनि संसदीय समितिहरूले विचाराधीन धेरैजसो विधेयक टुंगो लगाउन सकेका छैनन् । प्रतिनिधि सभाका ६ वटा विषयगत समितिमा १५ र राष्ट्रियसभा तर्फका समितिमा चार गरी १९ वटा विधेयक विचाराधीन अवस्थामा छन् । यीमध्ये चारवटा विधेयक मात्र समितिबाट पारित भएका छन्, जुन संसद् सुरु भएलगत्तै पेस गर्ने तयारी छ । राज्यव्यवस्था तथा सुशासन समितिले भ्रष्टाचारसम्बन्धी विधेयकमाथिको छलफल सकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी संशोधन विधेयक नीतिगत बाहेकका मन्त्रिपरिषद्का निर्णय अख्तियारले हेर्न पाउने वा नपाउने भन्ने विषय सहमति नहुँदा समितिमै रोकिएको छ । संघीय निजामति विधेयक भर्खरै मात्र दफाबार छलफलमा प्रवेश गरेको छ । पाँच विधेयक रहेको अर्थ समितिले सुरक्षित कारोबार पहिलो संशोधन विधेयकको प्रतिवेदन तयार पारेको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिमा एक, शिक्षा समितिमा दुई, पूर्वाधार समितिमा दुई र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा रहेको एउटा विधेयकमाथि छलफल जारी छ । सरकारले हालै जारी गरेका पाँचवटा अध्यादेश पनि संसद्को बिजनेस हुन् । त्यस्तै, यसअघि नै संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी संशोधन विधेयक, विधायनसम्बन्धी विधेयक, बैकिङ कसुर तथा सजाय विधेयकका प्रतिवेदन पेस भइसकेका छन् । जुन यो अधिवेशनको बिजनेसको रूपमा रहने सम्भावना छ । विधेयकबाहेक सदनमा सांसदहरूले जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव, संकल्प प्रस्ताव ल्याउन सक्छन् । जो सदनको महत्वपूर्ण कामअन्तर्गत नै पर्छ ।
अर्कोतर्फ अध्यादेशमार्फत् बजेट प्रस्तुत हुनुभन्दा एक महिना अगाडि नै प्री–बजेट छलफल गरिसक्ने भनिएको छ । जसले गर्दा यो अधिवेशन पनि कानुन निर्माणमा उपलब्धिमूलक हुनेमा आशंका छ ।