काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि निर्माण व्यवसायीले पूर्वघोषित आन्दोलन आन्दोलन रोकेका छन् । प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबारदेखि राजधानीमा गर्ने भनेको धर्नासहित कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।
नेपाल निर्माण व्यवसायी महासंघ टोलीले बुधबार प्रधानमन्त्री ओलीसँग भेटेको थियो । भेटमा प्रधानमन्त्री ओलीले समस्या समाधानमा कार्यदल गठन गर्न सरोकारवालालाई निर्देशन दिएका थिए ।
महासंघले २७ पुसमा राष्ट्रिय भेला आयोजना गरी तत्काल भुक्तानी दिनुपर्ने, मूल्यवृद्धि तथा विभिन्न सार्वजनिक खरिद कानुनमा रहेका अवरोध हटाउनु पर्ने माग राखेर चरणबद्ध आन्दोलन घोषणा गरेको थियो ।
निर्माण व्यवसायीले विभिन्न दलका नेता र विभागीय मन्त्रीहरूलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए भने १४ बुँदे माग पूरा गर्न १५ दिनको अल्टिमेटम दिएर १८ माघदेखि सडक आन्दोलन घोषणा गरेका थिए ।