काठमाडौं । विरामी बोकेर खोटाङबाट काठमाडौं आउँदै गरेको सुमो ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
ना१ज ६४२१ नम्बरको सुमो ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिकास्थित वडा नम्बर ६ र ७ को सीमानामा पर्ने भँडारे खोलामा दुर्घटना हुँदा आमा–छोरासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङ छन् । उनीहरु एकै परिवारको भएको बताइएको छ ।
प्रहरीका अनुसार बिरामी मायादेवीलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौँ लिएर हिँडेको सुमो रातको साढे १२ बजेतिर दुर्घटना भएको रहेछ । बिहान मात्रै खबर पाएर घटनास्थलमा पुग्दा तीन जनाको मृत्यु भइसकेको र सुमो चालक २२ वर्षीय अनिल पण्डित फरार रहेको प्रहरीले जनाएको छ ।