काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै ‘स्टन्टबाजी’बाट देश नचल्ने बताउँदै राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकता रहेको बताएका छन् ।
नेपाल बार एसोसिएसन र युवा कानुन व्यावसायी सरोकार समाजद्वारा बुधबार आयोजित ‘युवा कानुन व्यावसायी सम्मेलन, २०२५’ को उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आ–आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने बताएका छन् ।
सांसदहरुले कानुन बनाउँदा सार्वभौमसत्तासम्पन्न जनताका तर्फबाट कानुन बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सबकुछ हुँ भन्ने भ्रम पाल्न नहुने स्पष्ट पर्दै प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री ओलीले सम्मेलनका निष्कर्षहरु कार्यान्वयनका लागि सरकारबाट तर्फबाट आश्वासन दिँदै युवा कानुन व्यवसायीले न्यूनतम्भन्दा कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘संसद्ले न्यायपूर्ण कानुन बनाउनुपर्छ । सम्बन्धित निकायहरू त्यसअनुसार चल्नुपर्छ । सन्तुलन र नियन्त्रणको सिद्धान्तका साथै लोकतन्त्रमा आफै कानुनको पालना गर्ने अभ्यास अझ आवश्यक हुन्छ । देशप्रति साँच्चै इमानदार भएर सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध र सुखी नेपाली बनाउन सकियोस् भनेर सरकार लागिरहेको छ, यसमा कानुन व्यवसायीको सक्रिय साथ रहने मैले विश्वास लिएको छु ।’
अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिबाट पनि सम्बोधन गरिएको कार्यक्रममा युवा कानुन व्यवसायी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ।