काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस– एमाले गठवन्धनको आफ्नो सरकार २०८४ को मंसिरसम्म चल्ने दावी गरेका छन् ।
दिनदिनै सरकार ढल्छ भनेर विपक्षीहरुले चलाइएको हल्लाप्रति जवाफ दिँदै मंगलबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘दिनैपिच्छे सरकार ढल्छ, अलि पछि सरकार ढल्छ । बेलुकासम्म सरकार ढल्छ । राती नै ढल्छ । अथवा भोलि बिहान नै ढल्छ । भएन भने दिउँसोसम्म ढल्छ । नभए भोलिसम्मलाई ढल्छ । भोलि नभए पर्सीम्मलाई सारदिए। यो हप्ता ढलेन भने अर्को हप्तालाई म्याद सारिदिए । यो महिना ढलेन, अर्को महिनालाई म्याद सारिदिए । साउनमा ढलेन, भदौलाई म्याद सारे । भदौमा पनि ढलेन, दसैँमा सारे । दसैँमा ढलेन मंसिरलाई सारे ।’
ओलीले सरकार ढल्ने मिति आफैले तोक्दै भने, ‘कुन मंसिर ? २०८४ मंसिरसम्म ढल्न सक्छ । तर, मान्छेले के अस्तिको मंसिर बुझे । २०८४ को मंसिरको चुनाव । त्यतिबेला सरकार बदलिन्छ ।’
संसद्मा पूरा समय उपस्थित हुन सांसदहरूलाई निर्देशन
प्रधानमन्त्री एवं अध्यक्ष ओलीले संसद् र संसदीय समितिका बैठकमा पूरा समय उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएका छन् । उनले गलत ढंगले कुनै पनि विधेयक पारित नहोस् भन्नका लागि पनि पुरा समय बैठकमा उपस्थित हुनुपर्ने बताए ।
ओलीले संसद्मा भूमिका खेल्न जनताले आफूहरुलाई पठाएको भन्दै झुठा लान्छानाहरुको प्रतिवाद गर्न समेत सांसदहरुलाई निर्देशन दिएका छन् ।