काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि म्यानमारका राजदूत यु म्यो म्यिन्ट माउङले शिष्टाचार भेटवार्ता गरेका छन्।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा नेपाल–म्यानमार द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय, आर्थिक सामाजिक एवं सांस्कृतिक सम्बन्धलगायत विषयमा छलफल भएको थियो।
त्यस अवसरमा उपराष्ट्रपति यादवले सन् १९६० मार्चमा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र म्यानमारबीच द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै गएको बताएकाे उनका प्रेस संयोजक दिनेश यादवले जानकारी दिए।
उपराष्ट्रपति यादवले अतिकम विकसित राष्ट्रको मुद्दामा नेपाल र म्यानमार दुवै आर्थिक हितका लागि सहकार्य गर्दै आएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीच भएका व्यापार तथा लगानी, पर्यटन एवं सांस्कृतिक सहकार्यसम्बन्धी समझदारी कार्यान्वयन भई आर्थिक सम्बन्ध र सहकार्य थप प्रगाढ र विस्तार हुने विश्वास व्यक्त गरे।
भेटमा राजदूत माउङले नेपाल र म्यानमारले भगवान बुद्धलाई उच्च सम्मान गरेको उल्लेख गर्दै बुद्धको जन्मभूमि नेपालमा काम गर्ने मौका पाएकामा खुसी व्यक्त गरे। “नेपाल र म्यानमारबीच जनस्तरको सम्बन्ध छ। क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको ‘नन–अलायन्स’ नीतिको म्यानमार प्रशंसा गर्दछ”, उनको भनाइ उद्धृत गर्दै उपराष्ट्रपतिको सचिवालयले भनेको छ। (रासस)