पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशप्रति चित्त नबुझेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने उच्च अदालत पोखरामा निवेदन दिएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले रविलाई पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले रविलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको थियो । न्यायाधीश राजुकुमार खतिवडाको इजलासले धरौटीमा छाड्नुको कारण पेश गर्न आदेश गरेको थियो ।
रवि पनि जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेशमा चित्त नबुझेको भन्दै साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका हुन ।
जिल्लाको आदेशमा चित्त नबुझेपछि फौजदारी कार्यविधि संहिताको ७३ नम्बर बमोजिम उच्च गएको रास्वपा सभापति लामिछानेका कानुन व्यवसायी डा. नारायण कडेंलले जानकारी दिएका छन् ।
जिल्ला अदालत पोखराले जस्तै काठमाडौं, चितवन र बुटवलबाटसमेत रविसँग धरौटी माग गरेको छ । एकपछि अर्को ठाउँमा धरौटीमा माग भएसँगै उनले उच्च अदालत पोखरामा निवेदन दायर गरेका हुन् ।
गोर्खा मिडिया मार्फत रविले सहकारीको रकम ठगी गरेको आरोपमा अब चितवन र पर्सामा मुद्दा दर्ताको तयारी भइरहेको छ ।