काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमवारसम्म चल्ने भएको छ ।
आईतवार संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा संसद्को हिउँदे अधिवेशन, सरकारले गरिरहेका काम कारबाहीहरु र अध्यादेश,उच्च स्तरीय संयन्त्रको आवश्यकताका विषयमा सांसदहरुलाई जानकारी दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । घिमिरेले बैठकमा सदनमा दरिलो उपस्थितिको रणनीतिका विषयमा पनि छलफल भएको उल्लेख गरे ।
प्रमुख सचेतक घिमिरेले आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रश्तुत भइसकेका तर विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि सांसदहरुको समेत धारणा सुन्दै मन्त्री र पार्टीका नेताहरुको जवाफ दिएर टुंगोमा पुगिने बताए ।
घिमिरेले बैठकमा गृहमन्त्री रमेश लेखकबाट सरकारले गरिरहेका काम कारबाहीहरु र अध्यादेशका विषयमा सांसदहरुलाई प्रष्ट पारेका जानकारी दिए । त्यसैगरी उच्चस्तरीय संयन्त्रको आवश्यकता र त्यसले गरेको कामको बारेमा महामन्त्री गगन थापाले प्रस्ट्याएका थिए । बैठकमा तीन जना विज्ञहरुले सांसदहरुलाई सरकारले ल्याएको अध्यादेश र अध्यादेशमा आएका ऐनहरुको अन्तरबस्तुको विषयमा प्रकाश पार्ने काम समेत भएको घिमिरेले बताए ।
घिमिरेले आन्तरिक रुपमा व्यापक छलफल गर्ने, तर बाहिर गएपछि पार्टीको निर्णयलाई बोकेर हिँड्नु पार्टी कार्यकर्ताको धर्म भएको पनि बताए । उनले आगामी संसदमा सत्ता पक्ष र प्रतिपक्षको सहमतिकै आधार विधेयकहरु बनाउने बताए ।