काठमाडौं । उच्च शिक्षा अध्यापन गराउने नेपालका क्याम्पसहरूमा सञ्चालित आईटी नेटवर्कलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आज एनआरइएनको आयोजनामा दुईदिने कार्यशाला सम्पन्न भयो । देशका २७ संस्थाका ३५ जना सहभागी उक्त कार्यशाला नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट), खुमलटारमा आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटन नाष्टका सचिव डा. रविन्द्र प्रसाद ढकालले गरेका थिए । एनआरइएनका अध्यक्ष लोचनलाल अमात्यले उद्घाटन समारोहमा प्रशिक्षार्थीहरूलाई स्वागत गर्दै क्याम्पस नेटवर्कको डिजाइन शिक्षक तथा विद्यार्थीहरूले अधिकतम लाभ लिन सक्ने गरी गर्नुपर्ने र यस कार्यशालाबाट सोही सीप ग्रहण गर्न प्रशिक्षार्थीहरूलाई सुझाब समेत दिए ।
कार्यक्रम सञ्चालन गर्न नाष्टको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्र अन्तर्गतको राष्ट्रिय सूचना ज्ञान केन्द्रले सहयोग गरेको थियो । प्रशिक्षार्थीहरू सूचना प्रविधिको अध्यापन हुने नेपालका सबैजसो विश्वविद्यालय तथा कलेजका क्याम्पस नेटवर्क डिजाइनरहरू नै थिए भने प्रशिक्षार्थीहरू एनआरइएन र सुबिसु कम्पनीका विज्ञहरू थिए ।
कार्यशाला सम्पन्न भइसकेपछि प्रशिक्षार्थीहरूले उक्त कार्यक्रमबाट आआफ्नो कलेजको नेटवर्क डिजाइनलाई थप प्रभावकारी बनाउन र कलेज नेटवर्कलाई आईएसपि जस्ता बाह्य नेटवर्क सँगको समन्वय बढाउन सीप प्रदान गरेको जनाए ।
देशका विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूलाई आवश्यक गर्ने द्रुत गतिको इडुरोम नामक वाईफाई सेवा निशुल्क प्रदान गर्ने एनआरइएन नेपालको एक मात्र अनुसन्धानमा समर्पित गैरनाफामूलक संस्था हो । कार्यशालामा संलग्न सबै प्रशिक्षक तथा कर्मचारीहरूले आआफ्नो सेवा निशुल्क प्रदान गरेका थिए ।