काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जान्नेलाई छान्ने नाममा नेपाललाई अस्थिरताको दुष्चक्रमा फसाउने षड्यन्त्र गरिएको बताएका छन् ।
शनिवार काठमाडौंमा युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुराना पार्टी असफल भए अब नयाँ खोज्नुपर्छ भन्ने भ्रम फैल्याएको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै जान्नेलाई छान्ने भन्ने अभियन्ताहरु सहकारीको रकम कम्पनीमा प्रयोग गर्न पाइँदैन भन्ने पनि जानकारी नराख्नेहरु रहेको बताए ।
उनले जान्नेलाई छान्ने भन्नेहरुले नेपालको कानून पहिला जान्नुपर्ने बताए । अब युवाहरुले बुझिसकेको भन्दै युवाहरु भ्रमित नहुने बताए । मुलुकका समस्या समाधान गर्नका लागि अनुभव नभएकाहरु र राजनीतिक विज्ञानसँग बेखबर भएका, सामाजिक सञ्जालमा लोकप्रियता हासिल गरेका भरमा राजनीतिको मैदानमा सफल नभइने बताए । राजनीति आफैँमा एउटा विज्ञान भएको बताए ।
महासचिव पोखरेलले राजनीति गर्नेहरुले संघर्ष गर्न सक्नुपर्ने र धैयर्ता राख्न सक्नुपर्ने बताए । सयौँ फूलहरु फुल्न दिनुपर्छ भन्नुको अर्थ सयौँ पार्टीहरु खोलेर सत्ताको राजनीतिमा लुछाचुँडी गर्नुपर्छ भन्ने नभएको बताए । समाजवादका नाममा अनेक प्रकारका दलहरु खोलेर समाजवादी आन्दोलनलाई कमजोर पार्ने काम भइरहेको बताए ।