पाल्पा । मृत्यु मार्गको रूपमा परिचित पाल्पा–बुटवल सडक खण्डको अति जोखिम सिद्धबाबा क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङमार्ग (ब्रेक थ्रु) छिचोलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्जुअलमार्फत सुरुङ छिचोल्नका लागि स्विच थिचेपछि पाल्पा र बुटवल दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार एक सय २६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ ।
प्रधानमन्त्री ओलीको उपस्थितिमा मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने भनिए पनि कार्यक्रमको अन्तिममा आएर ओलीको अस्वस्थताका कारण भर्जुअलमार्फत मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको आयोजनाले जनाएको छ । सुरुङमार्ग छिचोलिएपछि यो सडक क्षेत्र भएर यात्रा गर्ने हजारौं यात्रुलाई खुसी दिलाएको छ ।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । ठूलो क्षति व्यहोर्नु परेको र त्रासदीमा यात्रा गर्नेुपर्ने बाध्यतामा रहेका यात्रुहरू सुरुङमार्गको ब्रेक थ्रु भएपछि वर्षौदेखि सुरुङ बन्ने सपना विपनामा परिणत हुनेमा ढुक्क भएका छन् ।
यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । यहाँ हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पु-याउने गर्दछ । दैनिक हजारौं सवारीका साधन गुड्ने यो क्षेत्रमा अहिलेसम्म सयौं मानिसले ज्यान गुमाएका छन् । हिउँदमा समेत पहिरो खसेर कैयौ यात्रुले ज्यान गुमाउनु परेको इतिहास साक्षी छ । बर्षामा यो सडक क्षेत्र त्यसैपनि अति जोखिममा छ ।
छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरुपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ ।