काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजले रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने अत्याधुनिक सुविधासहितको प्रविधि ल्याएको छ । यो प्रविधि नेपालमै पहिलो र एशियाको ६ वटा अस्पतालमा मात्रै उपलब्ध रहेको प्रतिनिधिसभा सदस्य समेत रहेका सो अस्पतालका सञ्चालक डा. सुनिल शर्माले बताएका छन् ।
आम नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको नोबेलले उत्कृष्ट प्रविधि सहित गुणस्तरीय सेवा थप्ने क्रममा क्यान्सर उपचारमा नयाँ आयाम स्थापित गर्दै रेडिएसन थेरापी सेवा सुरु गरेको हो । अस्पतालले ३ अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधि सहित दक्ष जनशक्तिको व्यवस्था गरी नेपालमै क्यान्सरको सहज उपचार सेवाको सुरुवात गरेको सञ्चालक डा. शर्माले जानकारी दिएका छन् ।
डा. शर्माका अनुसार नोबेलले भित्र्याएको प्रविधि दक्षिण एशियाका अस्पतालमध्ये भारतको मुम्बईस्थिति कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा १, म्याक्स अस्पतालमा ३, नयाँदिल्लीस्थित मेदान्तामा २ गरी ६ स्थानमा मात्र जडान गरिएको प्रविधि हो । अमेरिकामा निर्मित भेरियन कम्पनीको रेडिएसन थेरापीको ‘एज’ नामक उपकरण नेपालको हकमा हालसम्म बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा मात्र उपलब्ध भएको छ ।
डा. शर्माले दिएको जानकारी अनुसार यस उपकरणमा रहेको सिक्सडी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआर एस, र एसबी आरटीले शल्यक्रियाबिना नै क्यान्सर सेललाई निर्मूल गर्न सक्छ । आईजी आरटी, आईएम आरटी, भीएम एटी जस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र टार्गेट गर्ने क्षमता राख्दछ । ब्राकी थेरापीले बिनादुखाई शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने काम गर्दछ । यसका साथै, फोरडी आरटीसीटी नामक सिटी स्क्यान मेशिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउँछ ।
नोबेलमा क्यान्सर उपचारको लागि दैनिक ओपीडी, प्रयोगशाला परीक्षण, एक्सरे, सिटी स्क्यान, एम. आर. आई, अल्ट्रासाउण्ड, डे केयर, केमो थेरापी, शल्यक्रिया, भर्नागरी उपचार गराइने अन्तरङ्ग सेवा, रेडिएसन थेरापी लगायतका सेवा सञ्चालनमा छन् ।
नोबेल मेडिकल कलेजले सरकारको विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत क्यान्सर रोगीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । यसले विशेष गरी पूर्वी नेपालका आर्थिक रूपमा कमजोर रोगीलाई राहत मिलेको छ । विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गतको सेवा प्रदान गर्न नोबेलमा रहेको सामाजिक सेवा इकाईले सहजीकरण गर्ने गर्दछ ।
आम नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका डा. शर्माले उत्कृष्ट प्रविधि सहित गुणस्तरीय उपचारमा नयाँ आयाम स्थापित गर्दै आएका छन् । डा. शर्माले गरिब परिवारको निशुल्क स्वास्थ्य उपचारदेखि अत्याधुनिक स्वास्थ्य सामाग्रि खरिद गर्नेसम्मका काम निरन्तर रुपमा गर्दै आएका छन् ।
डा. शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर हजारौ गरिब दिनदुःखीलाई सेवा प्रदान गर्दै आएका छन् । शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन् । सांसद डा. शर्माले नोबेल मेडिकल कलेज विराटनगरमा आफ्नो निर्बाचन क्षेत्रका जनता जुनसुकै पार्टीका भएपनि निःशुल्क क्याबिन व्यवस्था गरेका छन् ।