काठमाडौँ । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायी विक्रम लामामाथि ११ कात्तिक आक्रमण गर्ने थप दुई जनालाई प्रहरीले भारतबाट पक्राउ गरेर नेपाल ल्याएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट–७ का दीपक बरामुलाई पक्राउ गरेको हो ।
आक्रमणमा संलग्न समूह अजयकै योजना र निर्देशनमा परिचालित भएको खुलेको छ । सो घटनाका मुख्य योजनाकार भनिएका लक्ष्मी राई, रमेश सिलवाल भने अझै फरार छन् ।
अजय र दीपक विक्रममाथि आक्रमण गरेपछि झापा पुगेर दुर्गा प्रसाईँको घरमा लुकेका थिए । प्रहरी खोज्दै पुगेपछि उनीहरू त्यहाँबाट भाग्न सफल भएका थिए भने एक जनालाई पक्राउ परेका थिए । त्यहाँबाट भागेका दुवै जनालाई प्रहरीले हरियाणाबाट पक्राउ गरिएको जनाएको छ ।
फलामको सक प्रहार गरी व्यवसायी लामालाई गम्भीर घाइते बनाएको आरोपमा उनीहरूसहित ७ जनाविरुद्ध जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो ।
नुवाकोटको ककनी गाउँपालिका ४ का ३३ वर्षीय अजय लामा, नुवाकोटकै बेलकोटगढी नगरपालिका १२ घर भई टोखा बस्ने ३० वर्षका मार्सल भन्ने शैलेन्द्र तामाङ, गोरखाको आरुघाट ७ का २४ वर्षीय दीपक बरामु, गोरखाकै २८ वर्षीय निश्चल सुनार, सुनसरीको धरान उपमहानगरपालिका १३ घर भई बेलायतमा बसोबास गर्ने ५० वर्षकी लक्ष्मी राई, धादिङको ज्वालामुखी गाउँपालिका ४ का रमेश सिलवाल र गोरखा आरुघाट गाउँपालिका ८ का ३० वर्षका सिजन अधिकारी प्रतिवादी छन् ।
ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा उनीहरूलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ । यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराइदिन पनि अदालत समक्ष माग गरिएको छ ।
मुद्दा दर्ता भएका मध्ये निश्चल सुनार र मार्शल भनिने शैलेन्द्र तामाङ पुर्पक्षका लागि कारागार चलान भएका थिए । पक्राउ परेका अर्का प्रतिवादी पदम राई ५० हजार धरौटीमा रिहा भएका थिए । टीका भण्डारी र सिजन अधिकारीविरुद्ध भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो ।