कञ्चनपुर । जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । लालपुर सबस्टेशन बाट कलुवापुर सबस्टेशन सम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गते सम्म विद्युत् आपूर्ति सेवा बन्द हुने भएको हो ।
गर्मीयाम र हुरीबतासको समयमा हुने विद्युत् अनियमित र न्यून भोल्टेज सुधार गर्नका लागि कण्डक्टर अपग्रेडको कार्य हुने महेन्द्रनगर वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले बताए । अत्तरिया स्थित नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले ठेक्का प्रक्रिया मार्फत जीर्ण अवस्थाका पुल र तार फेर्ने काम गर्ने उनले बताए ।
गर्मीका बेला काम गर्न असहज हुने भएकाले फागुन भित्र सक्नेगरी काम शुरू हुने उनले बताए । उनका अनुसार, कलुवापुर ३३÷११ केभी सबस्टेशन बाट विद्युत् आपूर्ति हुने शुक्लाफाँटाका सम्पूर्ण स्थान, कृष्णपुर नगरपालिकाको वडा नं १, २, ३ का सुन्दरीफाँटा, दोमिल्ला, पहरिया, गोजे, कुमगडा, वाणी, बङ्क लगायत स्थानका साथै बेलौरी वितरण केन्द्रका सम्पूर्ण स्थानमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
प्राधिकरणले जारी गरेको सूचना अनुसार आज (शुक्रबार) र १४ गते सोमबार बिहान ९ देखि साँझ ५ बजे सम्म विद्युत् आपूर्ति बन्द हुने छ । यसैगरी, माघ १२ गते, १३ गते, १५ गते दिउँसो १ देखि साँझ ५ बजे सम्म विद्युत् आपूर्ति बन्द हुने छ । समयअगावै कार्य सम्पन्न भए विद्युत् लाइन सञ्चालन गरिने भएकाले बिना जानकारी लाइन नजिक नजान पनि आग्रह गरिएको छ । (रासस)