काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि तय भएका कार्यक्रम तथा भेटघाट बन्द गरिएको छ । मंगलबार राती सकिएको पार्टीको सचिवालय बैठक पछि ओली अस्वस्थ भएका हुन् ।
घाँटीमा समस्या भएपछि प्रधानमन्त्री ओली आज सशस्त्र प्रहरी दिवस–२०८१ को अवसरमा हल्चोकमा आयोजित समारोहमा उपस्थित भएनन् ।
प्रधानमन्त्रीको सचिवालयबाट टुंगो लागे अनुसार, प्रधानमन्त्री ओली साढे ११ बजे हल्चोकमा उपस्थित हुने भन्दै अतिथिहरूलाई आमन्त्रण गरेको थियो । तर, अन्तिम समयमा प्रधानमन्त्री आउने कार्यक्रम रोकिए पछि गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको छ ।
‘चिसोको कारण प्रधानमन्त्रीको स्वर भासिएकाले बोल्न पनि अफ्ठ्यारो हुने हुँदा कार्यक्रममा सहभागिताका साथै भेटघात बन्द गरेर बालुवाटारमै आराम गरिरहेको सचिवालय स्रोतले बताएको छ ।