भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुनका लागि मंगलबार भैरहवा पुगेका छन् । लामिछानेमाथि जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएपछि अदालतमा उपस्थित हुनका लागि भैरहवा पुगेका हुन् । उनी भोलि अदालतमा उपस्थित हुनेछन् ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा गत माघ ६ गते अदालतमा दर्ता भएको पुरक अभियोगपत्रमा उनलाई प्रतिवादी बनाइएको छ ।
बुद्ध एयरलाइन्सको उडान नम्बर यू ४-८५९ बाट श्रीमती निकिता पौडेल लामिछानेका साथ मंगलबार साँझ उनी भैरहवा पुगेका हुन् । अदालतमा मुद्दा दर्ता भएपछि उनी आफैँ अदालतमा उपस्थित हुनका लागि भैरहवा आएका हुन् ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक हजार ९ सय ३ तीन जना बचतकर्ता छन् भने एक हजार ८ सय ७२ जनाले कुल ४२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका हुन् ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा धरौटी बुझाएर रिहा भएका छन्। कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटीमा लामिछाने थुनामुक्त भएका हुन् ।