कोलम्बिया । कोलम्बियामा शान्ति प्रक्रिया ठप्प भइरहेका वेला सशस्त्र लडाकुबिच नयाँ शृंखला विस्तार भएपछि चार दिनमा सर्वसाधारणसहित ८० जनाभन्दा बढीको मृत्यु भएको छ ।
सशस्त्र झडपका घटनापछि करिब ११ हजार मानिस विस्थापित भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । त्यहाँका बासिन्दाहरू आफ्नो ज्यान जोगाउन भागेपछि सेनाले कोकिन खेती गर्ने क्याटाटुम्बो क्षेत्रमा करिब पाँच हजार सैनिक तैनाथ गरेको थियो ।
नेसनल लिबरेसन आर्मी (इएलएन) सशस्त्र समूहले गत बिहीबार क्याटाटुम्बोमा पार्क गुरिल्ला फोर्सका भूतपूर्व सदस्यहरू सम्मिलित प्रतिद्वन्द्वी समूहमाथि आक्रमण गरेको अधिकारीहरूले बताएका छन्।
नर्ते डी सान्तान्दर विभागका गभर्नर विलियम भिल्लामिजारका अनुसार हिंसात्मक घटनाका कारण नागरिकहरू ठाउँठाउँमा फसेका र आइतबारसम्ममा ‘८० जनाभन्दा बढीले ज्यान गुमाइसकेका’ अनुमान गरिएको छ ।
मोटरसाइकल, डुंगामा ब्याकप्याक र सामान बोकेका वा खुला ट्रकमा बसी हिंसाबाट त्रसित बासिन्दाहरू सप्ताहन्तमा यस क्षेत्रबाट भागेका थिए। आर्थिक र राजनीतिक उथलपुथलबाट गाउँहरूबाट भागेर सयौँले तिबु सहरमा शरण लिएका थिए भने केही सीमा पार गरेर भेनेजुएला पुगेका थिए।
भेनेजुएलाले ‘कोलम्बियाबाट विस्थापित व्यक्तिहरूको सहायताका लागि एक विशेष अभियान’ सुरु गरेको घोषणा गरेको कोलम्बिया सरकारले जनाएको छ ।
भेनेजुएला भागेका ४५ वर्षीय किसान जियोभान्नी भालेरोले भने, ‘कोलम्बियाली नागरिकको हैसियतले मेरो देश छोड्नु मेरो लागि पीडादायी छ । क्याटाटुम्बोको अवस्था सुल्झिनेछ र उनीहरू फर्कन सक्नेछन् भन्ने आशा विस्थापित सर्वसाधारणले गरेका छन् ।’
सन् २०२२ मा निर्वाचित भएपछि राष्ट्रपति गुस्ताभो पेट्रोले अझै पनि कोलम्बियाको केही भागहरूमा नियन्त्रण गरिरहेका इएलएन र अन्य सशस्त्र समूहहरूसँग वार्ता सुरु गरेका थिए ।
इएलएन समूहले ‘युद्ध अपराध’ गरेको आरोप लगाउँदै उनले अशान्तिको पछिल्लो शृंखलाको समयमा शुक्रबार उक्त समूहसँग वार्ता रोकेको घोषणा गरेको थियो । (रासस)