काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतको आदेशसँगै आजै धरौटी बुझाएर रिहा हुने प्रक्रियामा उनी रहेको बताइएको छ । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । सो मुद्दामा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
स्वर्णलक्ष्मी सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।