काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने र राष्ट्रिय हितलाई तिलाञ्जलि दिन नसकिने बताएका छन् ।
नेकपा (एमाले) परराष्ट्र मामिला विभागद्वारा आयोजित नेपालको परराष्ट्र नीतिबारेको संवादमा बोल्दै प्रधानमन्त्री ओलीले पञ्चशिलको सिद्धान्तमा आफू प्रतिबद्ध रहेको वताउँदै भने “हामीले हाम्रो भौगोलिक अवस्था र भूराजनीतिलाई बिर्सिएका छैनौं । तर, भूराजनीतिको नाममा सत्ता स्वार्थी, सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने, राष्ट्रिय हितलाई तिलाञ्जलि दिन तयार हुनेजस्ता स्तरहीन काम गर्दैनौं । नेपालको राष्ट्रिय नीतिभन्दा बाहिर गएर कसैले काम गर्छ भने हामी स्वीकार्दैनौँ ।”
नेपाल एउटा जिम्मेवार, विश्व शान्ति र न्यायको पक्षधर रहेको वताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय हितमा अडान नलिएर भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम आफूबाट नहुने स्पष्ट पारेका छन् ।
सबै बिषयमा तर्कपूर्ण र तथ्यपूर्ण ढंगले राख्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने ‘आफ्नो दृष्टिकोण, आफ्नो पोजिसन यहाँनेर छन् र यी जायज छन् भन्ने कुरा खुलस्त ढंगले पुष्टि गर्नुपर्दछ, हवाइ उड्यनका सम्बन्ध, सीमा नाकाहरुको सम्बन्ध, उद्योग कहाँ खोल्ने, नखोल्ने भन्ने सम्बन्धमा । अथवा यो वा त्यो सबै इस्यूमा ।’