धनगढी । नेकपा एमाले कैलाली जिल्ला कमिटीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।
शनिबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले उनीहरुलाई पार्टीको संगठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चुडामणि भट्टका अनुसार पूर्वमन्त्री सुवेदी र जिल्ला कमिटी सदस्य सुवेदी एमालेबाट निष्कासन गरिएका भीम रावलको गतिविधिमा संलग्न भएको पाइएपछि कारबाही गर्न सिफारिस गरिएको हो ।
नातामा बाबुछोरा उनीहरु एमालेमा भीम रावल निकट मानिंदै आएका थिए । रावल कारबाहीमा परेपछि उनले चलाएको मातृभूमि जागरण अभियानमा दुवै जना सक्रिय भएका छन् ।
यस्तै, बैठकले पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने पूर्वसचिव भीम उपाध्याय र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध धनगढी विमानस्थलमा भएको नाराबाजीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बैठकले दुवै विषयमा खेदप्रस्ताव समेत पारित गरेको छ । पूर्वसचिव भीम उपाध्यायले केही समय अगाडि लेखराज भट्टले एमाले छाडेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए तर पछि उनले गल्ती भएको भन्दै माफी मागेका थिए ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भीम रावल समर्थकले शुक्रबार धनगढी विमानस्थलमा नाराबाजी गरेका थिए ।