इजरायलले ७ अक्टोबर २०२३ मा एक अकल्पनीय घटनाको सामना गर्नु परेको थियो । गाजा क्षेत्रबाट एकाएक प्रवेश गरेका हमासका लडाकुले बलियो सुरक्षा तैनाथीलाई छक्याएर इजरायलको दक्षिणका किब्बुज र आसपासमा भीषण हमला गरेका थिए । यस हमलाबाट किब्बुज आलुमिम फार्ममा कार्यरत १० जना नेपाली विद्यार्थीसहित करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो। इजरायल र हमासबीच सन् २००८ यता यो पाँचौँ भीषण युद्ध हो ।
सन् १९४८ मा इजरायल स्थापना भएयता इजरायलमाथि यति ठूलो हमला कहिल्यै भएको थिएन । हमासका लडाकुले किब्बुजका घरघरमा प्रवेश गरेर बुढाबुढी, केटाकेटी, युवा जोकोहीलाई निर्ममतापूर्वक हत्या गरेका थिए । घरबस्तीलाई खण्डहरमा परिणत गरिदिएका थिए । यतिमात्र होइन, उनीहरूले २५१ जना बालबालिका, वृद्ध र युवालाई अपहरण गरेर गाजा लगेका थिए । गाजामा नाकाबन्दी गरेको, अल–अक्सा मस्जिदमा कारबाही गरेको, गाजा र पश्चिम किनारामा जबरजस्ती बस्ती बिस्तार गरेको बदलामा इजरायलमाथि आक्रमण गर्नुपरेको हमासले बताउँदै आएको छ ।
यो घटनाबाट आहत भएको इजरायलले हमास विरुद्ध अक्टोबर २७ देखि भीषण स्थल सैन्य र हवाई कारबाही थालेको थियो । हमासलाई समूल नष्ट गर्ने र बन्धकलाई मुक्त गर्ने अभियानमा लागेको इजरायललाई अमेरिकासहित पश्चिमा देशले आर्थिक, सैनिक, राजनैतिक सहायता र आडभरोसा दिएका थिए । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको सरकारले हमासबिरुद्ध थालेको सैन्य कारबाहीले हमासले गरेको आक्रमणलाई पनि बिर्साइदिएको छ ।
अन्तर्राष्ट्रिय मेडिकल जर्नल ल्यान्सेटका अनुसार, इजरायली बमबारीबाट गाजापट्टीमा मात्र ७० हजार भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । यद्यपि यो संख्याका बारेमा फरक फरक विवरण आइरहेका छन् । हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले इजरायली हमलाबाट ४६ हजार ८९९ जना प्यालेस्टिनीको ज्यान गएको बताएको छ । र, मारिएका मध्ये आधाभन्दा बढी महिला र बालबालिका छन् ।
एक लाख बढी प्यालेस्टिनी घाइते भएका छन्। मानवीय संकटको चरम स्थितिमा पुगे पनि इजरायली आक्रमण जारी थियो । गाजाका करिब २३ लाख सर्वसाधारण घर छाडेर टेन्टमा कष्टकर जीवन जिउन बाध्य छन् । उनीहरुका ९० प्रतिशत घर इजरायली बमबारीबाट क्षतिग्रस्त भएको सञ्चार माध्यमले बताएका छन् । युद्धको यस विभिषिकाबाट बच्ने कुनै आशा छाडेका उनीहरूले अन्तर्राष्ट्रिय समुदाय समक्ष अनेक हारगुहार गरिरहे । गाजाका अधिकांश घर भग्नावशेषमा परिणत भएका छन्, सडक बमबारीबाट क्षतविक्षत छन्, विद्यालय र अस्पताल कुनै बाँकी छैनन् । एक किसिमले गाजामा जातीय सफाया गर्न चाहेको आरोप इजरायलले खेपेको छ। अन्तर्राष्ट्रिय न्यायालयले इजरायली प्रधानमन्त्री र हमास नेतृत्वमाथि युद्ध अपराधको मुद्दा चलाएको छ ।
इजरायलले हमासका नेताहरूलाई पनि गाजा र अन्यत्र छानिछानी हत्या गरिदिएको छ । यसक्रममा २०२४ अक्टोबर १६ मा हमासका नेता याया सिनवार इजरायली स्थल सेनाको कारबाहीमा मारिएका थिए भने अर्का वरिष्ठ नेता इस्माइल हनिएको इरान भ्रमणका क्रममा हत्या भएको थियो ।
लेबनान र इरानमाथि आक्रमण
गाजामा सक्रिय हमास समूहलाई समर्थन गरेको आरोप लगाउँदै इजरायलले २०२४ सेप्टेम्बर २३ देखि लेबनानको दक्षिणी र राजधानी बेरुतका कतिपय क्षेत्रमा सक्रिय इरान समर्थित हेज्बोल्लाह लक्षित स्थल र हवाई आक्रमण गरेको थियो । यसक्रममा ८०० भन्दा बढी सर्वसाधारणका साथै ठूलो संख्यामा हेज्बोल्लाह समूहका सदस्य मारिए ।
झन्डै तीन महिनाको सैनिक कारबाही पछि हेज्बोल्लाह र इजरायली सरकारबीच २७ नोभेम्बरमा युद्धविराम भएको थियो । यसक्रममा हेज्बोल्लाहले पनि ड्रोन र क्षेप्यास्त्र प्रहार गरेर इजरायलमाथि दबाब सिर्जना गरेका थिए । तथापि, इजरायलको सैन्य सामथ्र्य अघिल्तिर हेज्बोल्लाह टिक्न सकेको थिएन ।
उता मध्यपूर्वमै युद्ध भड्किने आशंका निम्त्याउने गरी इरानले इजरायलमाथि १ अक्टोबर २०२४ मा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो । इजरायलले पनि २६ अक्टोबरमा हवाई आक्रमण गरेर इरानभित्र क्षति गरेको थियो ।
युद्धविराम, शान्तितर्फको एउटा अवसर
सन् २०२३ नोभेम्बर २४ मा कतारको मध्यस्थतामा पहिलो युद्धविराम भएको थियो । यो युद्धविरामलाई स्थायी बनाउने प्रयत्न हुँदाहुँदै ३० नोभेम्बरमा भंग भएको थियो । यस अवधिमा हमास समूहले आफ्नो नियन्त्रणमा रहेका झन्डै १५० जना बन्धकलाई मुक्त गरेका थिए। तर यो युद्धविरामलाई दिगो बनाउने प्रयास सफल भएन, र सम्पूर्ण बन्धकलाई मुक्त नगर्दासम्म युद्धविराम नगर्ने र आक्रमण जारी राख्ने इजरायलले घोषणा गरेको थियो ।
इजरायलले गाजावासीमाथि शक्तिको चरम दुरुपयोग गरेको भन्दै अमेरिकासमेत अन्तर्राष्ट्रिय समुदायले इजरायलमाथि दबाब सिर्जना गरे पनि इजरायली प्रधानमन्त्री टसमस भएनन् । तर अमेरिकामा राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि मात्र इजरायलले आफ्नो नीतिमा परिवर्तन गरी युद्धविराममा सहमति जनाउन केही नरम भएको थियो । पछिल्लो युद्धविराम गराउन पनि बाइडेन प्रशासनका अलावा ट्रम्पका वार्ताकार कतारमा भेला भएका थिए ।
तीन चरणमा कार्यान्वयनमा ल्याइने यो युद्धविराम प्रस्तावलाई इजरायली मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । युद्धविराम सम्झौता आइतबार बिहान शुरू भएको छ । युद्धविराममा प्रमुख मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले एक विज्ञप्ति जारी गर्दै युद्धरत सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । युद्धविरामको गाजावासी र बन्धक बनाइएका परिवारले स्वागत गरिसकेका छन् ।
हाल सार्वजनिक भएको प्रस्ताव अनुसार, हमासले ६ हप्ताभित्र आफ्नो नियन्त्रणमा रहेका ३३ जना बन्धकलाई मुक्त गर्नेछ । यसको बदलामा इजरायलले पनि इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीबन्दी रिहा गर्दैछ । बीबीसीका अनुसार, इजरायलले गाजाक्षेत्रको मुख्य भूभागबाट आफ्ना सेनालाई फिर्ता ल्याउन शुरू गर्नेछ । विस्थापित गाजावासीलाई आफ्ना घर फर्किन दिइने छ । गाजाका लागि अत्यावश्यकीय सामान बोकेका ट्रकलाई सुरक्षा जाँचपछि प्रवेश गर्न दिइनेछ ।
इजिप्ट–गाजा सीमामा खाद्यान्न र अन्य अत्यावश्यक सामग्री बोकेका सयौँ ट्रक गाजा प्रवेशको पर्खाइमा लामबद्ध छन् । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले गाजामा खाद्यान्न बोकेका ट्रकलाई निर्बाध र सहज प्रवेश दिन द्वन्द्वरत पक्षसमक्ष आह्वान गरेको छ । “गाजाका २३ लाख बासिन्दा खाद्यान्नको चरम अभावमा बाँचिरहेका छन् । उनीहरूलाई जतिसक्दो चाँडो खाद्यान्न दिएर बचाउनु जरुरी छ,” डब्ल्यूएफपीले भनेको छ ।
युद्धविरामको दोस्रो चरणमा बाँकी बन्धकलाई मुक्त गरिने छ भने गाजाबाट सबै इजरायली सैनिक फिर्ता हुनेछन् । तेस्रो चरणमा भने हमासले बन्धक बनाएका तर मृत्यु भइसकेका बन्धकलाई इजरायल फिर्ता गरिने छ । गाजाको पुनर्निर्माण अभियान शुरू हुनेछ । एक अनुमान अनुसार, हमास समूहलाई समेत सबै बन्धकको स्थितिका बारेमा जानकारी छैन । नेपाली विद्यार्थी विपिन जोशी हमासको अपहरणमा परेका भए पनि अझै उनका बारेमा हमासले केही खुलाएको छैन । यद्यपि, युद्धविरामको सर्तमै बन्धक बनाइएकाहरू सबैलाई मुक्त गर्ने भनिएकाले यसपटक विपिन सकुशल रिहा हुने अनुमान गर्न सकिन्छ ।
पछिल्लो युद्धविरामलाई दिगो बनाउन र गाजामा मानवीय सहायताका साथै पुनर्निर्माणका लागि के गर्ने भन्ने प्रस्ट भइसकेको छैन । गाजाको प्रशासन अब कसले सञ्चालन गर्नेछ? हमास वा अरू कुनै निकायले? यसमा इजरायल वा अमेरिकी प्रशासनले केही बताएका छैनन् ।