काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम चाडो गर्न अध्यादेश ल्याएको दाबी गर्दै अबको १५/२० दिनमा खुल्ने संसद्मा वैठकमा पेश गर्ने बताएका छन् । उनले दुई महिनाभित्र कानुनको रुप पनि लिइसक्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २५औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने “अहिले हामीले भर्खर कानुन अध्यादेशमार्फत ल्याएका छौँ । कतिपयले त्यसको विरोध गर्न खोजिरहेका छन्, १५÷२० दिनभित्र संसद् आइसक्छ । संसद् आएको पहिलो दिन त्यहाँ पेश गर्छौं । त्यहाँ छलफल गर्छौं । र अगाडि बढाउँछौं ।”
एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्त्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री ओलीले विकासको काम अघि बढाउने र जनताको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानुनहरूको निर्माण अहिलेको अवश्यकता रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले कामलाई अघि बढाउने, विकासलाई अघि बढाउने, जनतालाई सेवा पुर्याउने र व्यवसायीलाई पुग्ने सकारात्मक सहयोगका लागि कानुनहरू परिवर्तन गर्नुपर्ने बताएका छन् ।