दोलखा । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेता भीम रावललाई निष्कासन गरीएको विषय दुःखद भएपनि पार्टी अनुशासनको हिसाबले स्वभाविक रहेको बताएका छन् ।
प्रेस चौतारी दोलखाले बुधवार चरिकोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव भट्टराले रावललाई तीन बर्षदेखि पार्टीमा राख्ने प्रयत्न गरिएको भएपनि उनले पार्टीसंगको अनुबन्ध तोड्न चाहेपछि निष्कासन गरिएको स्पष्ट पारेका छन् । पार्टीमा प्रवेश गर्ने ढोका सधै खुला रहने र निस्कने ढोका कहिले काहीमात्र खुल्ने सचिव भट्टराईले बताएका छन् ।
एमाले सचिव भट्टराईले वर्तमान कांग्रेस– एमालेको गबन्धन सरकार २०८४ सम्मै रहने दावी गर्दै निर्वाचनमा भने छुुट्टाछुुट्टै प्रतिस्प्रर्धा गर्ने स्पष्ट पारेका छन् । यो सरकार मुलुकमा बिभिन्न सङ्कट रहेको बेला बनेको वताउँदै ६ महिनाको अवधिमा सरकारले केही राम्रा काम गरेको बताएका छन् ।
सरकारले सात बुँदे सहमति अनुसार नै संविधान संशोधन लगायतका काम गर्ने वताउँदै सचिव भट्टराईले भने– ‘सविधान संशोधनको विषयमा एमाले र नेपाली कांग्रेस आन्तरीक छलफलमा छन् । दुई पार्टीबीच संयुक्त छलफल पनि हुन्छ । अनि सबै राजनीतिक दलको सहमतिमै सरकारले संशोधनको प्रस्ताव अघि बढाउने छ ।’
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सबै देशसंग सन्तुलित रहेको बताउँदै भट्टराईले बिआरआई सम्झौताका कारण भारतसंगको सम्बन्ध नबिग्रने बताएका छन् ।