काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित सङ्घीय निजामती सेवा ऐन पारित हुने बताएका छन् ।
बुधबार मन्त्रालयमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा ट्रेड युनियनका नेताहरूलाई विश्वस्त तुल्याउँदै उनले बजारमा हल्ला चले अनुसार ट्रेड युनियन महासंघ खारेजीको पक्षमा सरकार नरहेको र ट्रेड युनियन अधिकारसहित सङ्घीय निजामती सेवा ऐन जारी हुने स्पष्ट गरेका हुन ।
‘निजामती सेवा ऐन जारी गराउन राज्य व्यवस्था समितिमा हामी निरन्तर छलफलमा छौँ । धेरै सल्लाह त यो पनि आएको छ कि ट्रेड युनियन नै खारेज गरौँ । ट्रेड युनियनको जरुरत छैन भनेर । तर, तपाइँहरूको हक अधिकारका लागि ट्रेड युनियनको जरुरी छ । त्यो कुरा हामीले राम्रोसँग बुझेका छौँ र यसबारे अन्य छलफल पनि गरिरहेका छौँ,’ मन्त्री गुप्ताले भने, ‘ट्रेड युनियनको अधिकारका साथ यो ऐन आउँछ । तपाइँहरू ढुक्क हुनुहोस् ।’
आफूले मन्त्रालयको कार्यभार सम्हाल्दादेखि नै निजामती सेवा विधेयकलाई प्राथमिकतामा राख्दै आएको बताउँदै उनले आफ्नो एक सय र दुई सय दिनको प्रगति विवरण तथा प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतामा समेत यो विषयलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिए ।