काठमाडौँ । सरकारले हालै ल्याएको अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने भन्दै निजी क्षेत्र उत्साहित देखिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज पुगेका नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशप्रति सरकारलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासङ्घका अध्यक्ष भगीरथ सापकोटाले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषयहरू स्वागतयोग्य भएको बताएका छन् ।
निजी क्षेत्रका प्रतिनिधिले कोभिड १९ पछि संकुचित भएको अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेश प्रभावकारी हुने भएकाले यसको कार्यान्वयनमा छिटै उपयुक्त नियमावली र कार्यविधि ल्याउन माग गरेका छन् । । उनीहरुले अध्यादेशका ती व्यवस्थाका कारण निजी क्षेत्रमा नयाँ रक्त सञ्चार हुने जनाउँदै लगानीमैत्री वातावरण सृजना यही ढङ्गले भएमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा हुन योगदान मिल्ने बताएका छन् ।
सरकारले अध्यादेशमार्फत विदेशमा लगानी गर्न प्रतिवन्ध लगाएको विदेशी विनिमय नियमित गर्ने ऐनमा परिर्वतन गरेकोमा सरकारलाई धन्यावद दिँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘सरकारले अध्यादेशमार्फत विदेशमा लगानी गर्न प्रतिवन्ध लगाएको विदेशी विनिमय नियमित गर्ने ऐनमा परिवर्तन गर्दै सूचना प्रविधि उद्योगलाई विदेशमा लगानी गर्ने जुन व्यवस्था गरिएको छ यसले नेपालमा व्यवसायिक क्रियाकलाप गरेर विदशबाट पनि बेनिफिट लिनसक्ने व्यवस्था भएको छ। निजी क्षेत्रले पहिलेदेखि नै यो माग उठाइरहेको थियो । यसका लागि म सरकारलाई निजी क्षेत्रको तर्फबाट धेरै धेरे धनयवाद दिन चाहन्छु ।’
त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको आर्थिक समृद्धिका लागि प्रधानमन्त्री ओलीले देखाएको दृढ इच्छाशक्तिको स्वागत गर्दै
बजारको मागमा आएको उच्च संकुचन तथा व्यवसायीहरूको खस्कँदो मनोबल लगायतका कारणले लगानी बढ्न नसकिरहेको अवस्थामा कानूनहरूमा गरिएको सुधारले लगानीकर्तामा सकारात्क सन्देश बताए ।
नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट गत पुस २९ गते विभिन्न चार अध्यादेश जारी भएकाले थिए भने भूमि व्यवस्थासम्बन्धी अध्यादेश रोकिएको छ । त्योे चाँडै जारी हुने मन्त्रीहरुले बताएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले राम्रो काम गर्ने सरकारको सदासयतालाई सकारात्मक रुपमा लिइदिएकामा खुसी व्यक्त गरेका छन् । उनले सरकार ढल्दै छ भन्ने र बजार हल्ला लाइए पनि सत्ता गठबन्धनमा रहेका दलहरू आपसमा बसेर देश बनाउने नीति निर्माणमा प्रभावकारी ढङ्गले कदम चालिरहेको स्पष्ट गरेका छन् ।
प्रधानमन्त्री ओलीले देश बनाऔँ भन्ने भावना सबैमा रहेको हुँदा आफ्ना स्वार्थका लागि जतिबेला पनि विरोध गर्नेहरूबाहेक आम मान्छेले विकास र सुशासन चाहेको बताए । सुशासन र विकाससँग सम्बन्धित व्यवहारिक र अनुकूल नीति ल्याइएमा समृद्धि असम्भव नहुने बताएका छन् ।