बारा । माघे सङ्क्रान्तिको विशेष अवसरमा मङ्गलबार बारामा ठूलो मेला लागेको छ । मेलामा १० लाखभन्दा बढी सहभागी भएको गढीमाई सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले जानकारी दिए ।
यस वर्ष गत मङ्सिर २४ गते बली चढाउने साइत जुटेपनि आर्थिक अभावले बली चढाउन नसक्नेले मङ्गलबार बलि चढाएको मन्दिरका मुख्य पुजारी मङ्गल चौधरीले जानकारी दिए । ‘मङ्गलबार पनि श्रद्धालुले बोकाको बली दिनुभएको छ भने केहीले परेवा उडाएर भाखल पूरा गर्नुभएको छ,’ उनले भने ।
गढीमाई मेला मूल व्यवस्थापन समितिका महासचिव वीरेन्द्र यादवले नेपाललगायत भारतको विभिन्न ठाउँबाट आएका भक्तजन मेलामा सहभागी भएको बताए ।
भारतबाट आउने भक्तजनका लागि गढीमाई मन्दिरसम्म आउने नाका रक्सौल, मटियर्वा सिम्रौनगढ, गौरबाट हलुका सवारीसाधनलाई बिना शुल्क इन्ट्री गरेर मात्र सहज रुपमा मन्दिरसम्म आउने वतावरण मिलाएको थियो । (रासस)