काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिंचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।
श्रेष्ठसँग भएको रु चार करोड ८८ लाख ३० हजार तीन सय २९ दशमलव ५४ पैसाको स्रोत नखुलेको उल्लेख गर्दै आज विशेष अदालतमा आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।
श्रेष्ठले सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाहरुबाट ठेकेदारहरुसँग मिलेमतो गरी कमिसन लिई काठमाडौं, ललितपुरलगायत विभिन्न स्थानहरूमा घरघडेरी जग्गाहरु, गाडी तथा विभिन्न कम्पनीका शेयर तथा कम्पनीमा लगानी गरेको खुल्न आएको अख्तियारको आरोप छ ।
२०४६ सालमा सेवा प्रवेश गरेर २०७७ सम्म श्रेष्ठले ३१ वर्षे जागिरे अवधिमा ११ करोड २५ लाख ६५ हजार एक सय ९९ वैधानिक आय गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । तर, उनले १६ करोड १३ लाख ९५ हजार पाँच सय २८ खर्च तथा लगानी फेला परेको छ ।
उनले गैरकानूनी रूपमा ४ करोड ८८ लाख ३० हजार पाँच सय २८ रुपैयाँ आर्जन गरेको सम्पत्ति जफत गरी असुल उपरको मागदाबी अख्तियारको छ ।
श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बाबु हरिकुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठसमेतको नाममा राखेको देखिएको र उनीहरुलाई पनि प्रतिवादी बनाइएको छ ।