काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न भएको छ ।
नेपाली सेनाको सक्रियतामा भएको पदयात्रामा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो । यही पुस २१ गते सुरु भएको पदयात्रा आज समापन भएको सेनाले जनाएको छ । पुस २७ को अवसर पारेर सेनाले विभिन्न जिल्लाका एकीकरण मार्गमा पदयात्रा गर्दै आएको छ ।
यस अवसरमा उदयपुरमा अन्य क्रियाकलाप पनि समावेश गरिएको थियो ।
विभिन्न विद्यालयका विद्यार्थीबीच वक्तृत्वकला, कविता वाचन, हाजिरीजवाफ प्रतियोगितासहित रचनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । पदयात्रामा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीका साथै अभिभावक, त्रियुगा र चौदण्डीगढी नगरपालिका, रौतामाई र उदयपुरगढी गाउँपालिकाका स्थानीयवासी, जनप्रतिनिधिलगायत व्यक्तित्वको सहभागिता थियो । (रासस)