झापा । झापा मेचीनगर नगरपालिका-१५ भगवती प्लाइ फ्याक्ट्री नजिकै कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। अर्का एक गम्भीर भएका छन्।
शुक्रबार राति ९:३० बजेको समयमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको रातो रङको कारले भारतको पश्चिम बङ्गालस्थित कुचबिहार निवासी २५ वर्षीय अप्पु राय र २० वर्षीय केशव मादकलाई ठक्कर दिएको हो। दुवै जना हिमशिखर फ्याक्ट्री, मेचीनगर-१५ मा काम गर्दै आएका थिए।
ठक्करपछि दुवैलाई उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल लगिएको थियो। उपचारका क्रममा राति ११:३० बजे डाक्टरले अप्पु रायलाई मृत घोषित गरेका हुन्। गम्भीर घाइते केशव मादकलाई थप उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको छ।
घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी ज्यामीरगढीबाट खटिएको टोलीले शनिबार घटनामा संलग्न डब्ल्यु ७४ एजि १२२५ नम्बरको कारसहित भारत पश्चिम बंगालको बागडोग्राका २३ वर्षीय रोशन खत्रीलाई नियन्त्रणमा लिएको छ।