काठमाडौं । नेपाल आयल निगम लिमिटेडको ५५ औँ वार्षिकोत्सव कार्यक्रम शुक्रबार मनाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सवका कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा रहेको बताएका छन् ।
समयमा नै अन्तिम लेखा परीक्षण कार्य सम्पन्न गरिएको जानकारी दिँदै कार्यकारी निर्देशक भट्टले स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको बताएका छन् ।
भट्टले भने, ‘स्वचालित मूल्य प्रणाली नभएको अवस्थामा मूल्य निर्धारण गर्न कठिन थियो । हरेक पटक मूल्य निर्धारणको समयमा निगम घेराउमा पर्ने गर्दथ्यो । स्कुल कलेज हड्ताल हुन्थे । नेपाल बन्द हुन्थ्यो । सडकमा टायर बालिन्थ्यो । २०७१ सालदेखि स्वचालित मूल्य प्रणाली लागू गरेपछि निगमको आर्थिक अवस्था सुदृढ भएको छ । पहिलेका समस्याहरूको समाधान पनि भएको छ ।’
ढुवानीमा हुने अनियमिततामा समेत कमी आएको दाबी गर्दै भट्टले सिनामंगल डिपो स्थानान्तरणको काम शुरू भएको, पेटोलमा इथानोल मिश्रण गर्ने कार्यका लागि कार्यविधि तयार गरेर अन्य कार्य शुरू गरिएको, एलपीजीको घरायसी र व्यापारिक फरक मूल्य कायम गर्ने कार्य सुरू गरिएको जस्ता केही नयाँ कामको पनि थालनी गरिएको जानकारी दिएका छन् ।