पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट जवाफी बहस सकिएकाले आजै आदेश आउने सम्भावना छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने समेत मुछिएको सो मुद्दामा आजै न्यायाधीश नीतिज राईले प्रतिवादीहरुलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना रहेको वकीलहरुले बताएका छन् ।
लामिछानेसहित पूर्व डिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लिला पछाईं, पूर्व सांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर र पूर्व कोषाध्यक्ष आरती गुरुङविरुद्ध जवाफी बहस सकिएसँगै न्यायाधीश नीतिज राइको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने फैसला गर्नेछन् ।
६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो माग दाबीसहित पुस ५ गते थप र ७ गते पुरक अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।
बुधबार लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भइसकेको छ ।
आदेशलाई मध्यनजर गर्दै बुधबारबाटै पोखराका शहीदचोक र जिल्ला अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पार्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
राष्ट्रबैंक चोकदेखि, रत्नचोक, मालपोत कार्यालयसम्म र मासबार हुँदै मुख्यमन्त्री कार्यालय छिर्ने चोकसम्म प्रशासनले निषेधित क्षेत्र तोकेर सवारी आउजाउ रोकेको छ भने कामका लागि आउनेहरुलाई प्रमाण देखाएर मात्र छिर्न दिइएको बताइएको छ ।
२ दिनअघि अदालत गेटबाहिर अनपेक्षित गतिविधि भएपछि प्रशासनले झनै सुरक्षा कडा पारेको हो । बुधबार पनि रास्वपाका कार्यकर्ता अदालत क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो ।