विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् । उनीमाथि अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।
एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोपमा अनिलमाथि अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश दिएको थियो ।
ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिव अनिललाई जिम्मेवारीबाट हटाएका थिए ।