विराटनगर । सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएकी अञ्जला कोइराला (पोखरेल) बुधबार जिल्ला अदालत मोरङमा उपस्थित भएकी छन् । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला मोरङको धनपालथान गाउँपालिका–३ को उमागौरी सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले गत शुक्रबार पोखरेलपत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो ।
वडाध्यक्ष खवास भने ५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् । बुधबार बिहान अदालत खुल्ने बितिक्कै हाजिर भएकी अन्जलाको थुनछेक बहस सुरु हुने बताइएको छ ।