काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा नफर्कन सुझाव दिएका छन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ सक्रिय राजनीतिमा फर्कन लागेको चर्चाका बीच पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । पूर्वउपराष्ट्रपति पुन त नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी वैठकमा सहभागी भइसकेका छन् ।
पूर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा सक्रिय हुने कुरा सम्बन्धित पार्टीको मात्र सवाल नभएको भन्दै सबैको ध्यानाकर्षण गराउँदै डा. भट्टराईले लेखेका छन् “पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति आआफ्नै पूर्व पार्टीमा फर्केर क्रियाशील हुने कुरा वहाँहरू र वहाँहरूको पार्टीको मात्र सरोकारको विषय हैन। यो हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको मूल अन्तरवस्तुको रक्षा र विकासको विषय हो।
साथै वहाँहरू दुवै ‘कम्युनिष्ट’ पृष्ठभूमिबाट आउनु भएकाले वहाँहरू र वहाँहरूका पूर्व पार्टीहरू परम्परागत रूपमा पार्टी र राज्यलाई एउटै मान्ने एक दलीय प्रणालीका पक्षधर हुन् कि हाम्रै विशेषताको बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अंगिकार गर्ने राजनीतिक शक्ति हुन् भन्ने परीक्षण गर्ने महत्वपूर्ण कसौटी पनि हो ।
त्यसैले यसवारे सम्बन्धित सबैको गम्भीर ध्यान पुगोस् ।”
पूर्वउपराष्ट्रपति पुन माओवादी वैठकमा सहभागी भएपछि नेताहरुले वैठकमा असन्तुष्ट समेत जनाएका छन् । माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुदन किराँतीलगायतले सक्रिय राजनीति भन्दा समाजसेवामा सक्रिय हुन सुझाव दिएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि केही दिनअघि पूर्वराष्ट्रपति भण्डारी समेत सहभागी कार्यक्रममा सक्रिय राजनीतिमा नफर्किन सुझाव दिएका थिए ।