सियोल । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा रहेकै समय उत्तर कोरियाले सोमबार क्षेप्यास्त्र परीक्षण गरेको छ । क्षेप्यास्त्र परीक्षणपछि ब्लिन्केनले प्योङयाङले अत्याधुनिक अन्तरिक्ष प्रविधिका निम्ति रुससँग अझ नजिकबाट काम गरिरहेको बताएका छन् ।
दक्षिण कोरियामा ‘मार्सल ल’ लागु गर्ने असफल प्रयासका निम्ति महाभियोग लगाइएपछि आफ्नो निवासमा थुनिएका कन्जरभेटिभ राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्ने प्रयास गरिरहेका बेला ब्लिन्केनको भ्रमण भएको हो ।
दक्षिण कोरियालाई जापानसँग सहयोग बढाउने युनको नीतिलाई कायम राख्न प्रोत्साहित गर्ने योजना बनाएका ब्लिन्केन सियोलमा वार्तामा रहेकै समय उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको र त्यो समुद्रमा खसेको थियो ।
सोमबार प्रहार गरिएको क्षेप्यास्त्र करिब एक हजार १०० किलोमिटर (६८० माइल)सम्म उडेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
ब्लिन्केनले उत्तर कोरियाबारे त्रिपक्षीय अभ्यास र गुप्तचर आदानप्रदानमा वृद्धि भएको तर्फ संकेत गर्दै भने, “आजको प्रक्षेपणले हामी सबैलाई हाम्रो सहयोगात्मक कार्य कत्तिको महत्त्वपूर्ण छ भन्ने कुराको स्मरण गराएको छ ।”
ब्लिन्केन र उनका दक्षिण कोरियाली समकक्षी चो ताइ–युलको संयुक्त पत्रकार सम्मेलनमा उनले भने, “उत्तर कोरियाले रुसी सैन्य उपकरणमा तालिम प्राप्त गरिसकेको छ । अब मस्कोले प्योङयाङसँग उन्नत अन्तरिक्ष र उपग्रह प्रविधि साझेदारी गर्न चाहेको भन्ने हामीसँग विश्वास गर्ने आधार बनेको छ ।”
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को भिटो अधिकार प्राप्त सदस्य रुसले उत्तर कोरियालाई आणविक राष्ट्रका रूपमा औपचारिक रूपमा स्वीकार गर्ने र प्योङयाङले आफ्नो कार्यक्रम अन्त्य गर्नुपर्छ भन्ने विश्वव्यापी सहमतिलाई ठूलो धक्का लाग्ने चिन्ता ब्लिन्केनले व्यक्त गरे ।
अमेरिकी र दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार, उत्तर कोरियाले गत वर्षको अन्त्यतिर युक्रेनविरुद्ध लड्न हजारौँ सैनिक पठाएको थियो र सयौँको मृत्यु भइसकेको छ ।
यसैबीच, जापानले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको विरोध गरेको छ । टोकियोमा प्रधानमन्त्री शिगेरु इशिबाले उत्तर कोरियाले रुससँगको सहकार्यमा ‘प्रविधिमा सुधार गर्दै गएको’ भन्दै चिन्ता व्यक्त गरेका छन् । (रासस/एएफपी)