काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा बैठकमा अध्यक्ष ओली पेस गरेको प्रतिवेदनमा समसामयिक राजनीति, सरकार गठन भएपछिको ६ महिने समीक्षा, सरकार सञ्चालन, अर्थतन्त्र लगायतका विषयमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेससँग थालिएको नयाँ राजनीतिक कोर्सको समीक्षा गर्दै प्रतिवेदनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनेको भोलिपल्टदेखि नै पुरानै चरित्र देखाउन थालेपछि सरकारबाट बाहिरिनु परेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारका कामहरू सकारात्मक भए पनि पर्याप्त नभएको स्वीकार गरेका छन् । सरकारले गरेका कामहरूको चर्चा गर्दै ओलीले सिद्धबाबा सुरुङ ब्रेक थ्रु, अवरुद्ध प्रमुख राष्ट्रिय राजमार्ग र अन्य पूर्वाधार निर्माणको गति, सुनकोशीको पुल २० दिनभित्रै पुनर्निर्माण, बंगलादेशमा विद्युत् निर्यात सुरु, भैरहवा विमानस्थलमा विदेशी एयरलाइन्सहरूको उडान, स्याटलाइट प्रविधिमा आधारित नयाँ संयन्त्र लगायतका विषय प्रतिवेदनमा उल्लेख गरेका छन् ।
दुई मुख्य दलको साझेदारी र अन्य दलहरू समेतको सहभागीतामा बनेको शक्तिशाली सरकारबाट जनताले अझ तीव्र विकास, परिवर्तन र डेलिभरीको अपेक्षा गरिरहेको वताउँदै सरकारले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।