काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य नहुने चेतावनी दिएका छन् । आजबाट सुरु केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको नाममा गुटबन्दी गरेर भाँडभैलो मच्याउने कामले पार्टीलाई कमजोर बनाउने टिप्पणी गर्दै पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्ने बताएका छन् ।
अध्यक्ष ओलीले कसैको बहकावमा लागेर नभई एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर अगाडि बढ्नु पर्ने बताएका छन् । अध्यक्ष ओलीले पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह पनि गरेका छन् ।
पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूले अहिले लड्डु ओकल्नुपरेको टिप्पणी गर्दै अध्यक्ष ओलीले विरोधीहरूले लगाएका आरोपको तथ्य र प्रमाणका आधारमा खण्डन गर्न नेता÷कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।
सम्बोधनको क्रममा अध्यक्ष ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतंकित भएको बताउँदै अध्यक्ष ओलीले त्यस्ता शक्तिहरु निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको बताएका छन् । एमालेको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरु लागेकाले पार्टीका
सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न अध्यक्ष ओलीले नेताहरुलाई आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले प्रतिवेदनमा भनेका छन् “सत्ताबाट बाहिरिएसँगै माओवादी केन्द्रलगायत केही दलले यस परिवर्तनका विरुद्ध एउटा मिथ्या संकथन निर्माणको प्रयास गरिरहेको र आफूहरूले ठूलाठूला भ्रष्टाचारका फाइल खोल्न थालेपछि अत्तालिएका दलहरू रातारात मिल्न पुगेको, यस समीकरणले आफूहरूले सुरु गरेको सुशासनको अभियानलाई उल्ट्याउन खोजेको, एमाले र नेपाली कांग्रेसले संविधान संशोधनका नाममा संघीयता, समावेशी प्रतिनिधित्व र समानुपातिक निर्वाचन प्रणालीजस्ता उपलब्धिहरू खोस्न खोजिरहेको जस्ता भ्रामक प्रचार गरिरहेको छ ।”
अध्यक्ष ओलीद्वारा वैठकमा पेश भएको ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले तीन/तीन मिनेट धारणा राख्ने गरी समय तय भएको छ ।