न्यापित, म्यान्मा । म्यान्मारको जुन्टा सरकारले देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा वार्षिक आममाफीअन्तर्गत करिब छ हजार कैदीलाई रिहा गर्ने शनिबार घोषणा गरेको छ ।
म्यान्मारमा सन् २०२१ को फेब्रुअरीमा भएको ‘कू’ पछि सेनाले हजारौँ प्रदर्शनकारी र अधिकारकर्मीलाई पक्राउ गरिसकेको छ ।
म्यान्मा ७७ वर्ष पहिले बेलायती औपनिवेशिक शासनबाट जनवरी ४ मा स्वतन्त्र भएको थियो । स्वतन्त्रता दिवसको अवसरमा शनिबार एक विज्ञप्ति जारी गर्दै १८० विदेशीसहित पाँच हजार ८०० भन्दा बढी कैदीलाई रिहा गरिने जुन्टा सरकारले जनाएको छ ।
आममाफीमा सामेल भएकामध्ये करिब ६०० जनालाई दण्ड संहिताको धारा ५०५ (ए) अन्तर्गत सजाय सुनाइएको जुन्टाका प्रवक्ता जाउ मिन तुनले सञ्चारमाध्यमलाई दिएको अडियो वक्तव्यमा उल्लेख छ ।
कानुनले सेनालाई कमजोर पार्ने कुनै पनि कार्यलाई निषेध गरेको छ र बढीमा तीन वर्षको जेल सजायको व्यवस्था गरेको छ।
माफी दिइएका विदेशीमध्ये अधिकांश थाइल्याण्डका नागरिक रहेको र उनीहरूलाई सीमामा रहेको क्यासिनोमा पक्राउ गरिएको उनले बताए ।
सेनाले मानवीय र अनुकम्पाको आधारमा माफीको आदेश दिएको जनाएको छ । जुन्टाले आजीवन कारावासको सजाय सुनाइएका १४४ जनाको सजाय घटाएर १५ वर्षमा झार्ने पनि घोषणा गरेको छ ।
म्यान्माले कैदीहरूलाई बिदा वा बौद्ध चाडहरूको उपलक्ष्यमा आममाफी दिने गरेको छ। गत वर्ष जुन्टा सरकारले स्वतन्त्रता दिवसको अवसर पारेर नौ हजारभन्दा बढी कैदीलाई रिहा गर्ने घोषणा गरेको थियो ।
राजधानी न्यापितमा शनिबार आयोजित वार्षिक स्वतन्त्रता दिवस समारोहमा करिब ५०० सरकारी तथा सैन्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित नभएका जुन्ता प्रमुख मिन आङ ह्लाइङले दिएको सम्बोधनलाई उपसेना प्रमुख सोइ विनले सम्बोधन गरेका थिए ।
सोइ विनले विगत चार वर्षदेखि हतियार त्याग्न र ‘शान्तिपूर्ण तरिकाले राजनीतिक मुद्दाको समाधान गर्न’ दर्जनौं जातीय अल्पसङ्ख्यक सशस्त्र समूहलाई जुन्टाले गरेको आह्वानलाई दोहोर्याए ।
उनले ढिला गरी लोकतान्त्रिक निर्वाचन गराउने सैन्य प्रतिबद्धता दोहोर्याए र राष्ट्रिय एकताका लागि आह्वान गरे । (रासस/सिन्ह्वा)