काठमाडौं । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शेरा दरबारको जग्गाबारे प्रश्न उठेको छ । एमालेका सांसद वासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे सोधेपछि गृहमन्त्री रमेश लेखकले सरकारले गैरकानूनी काम गर्ने कसैलाई नछाड्ने बताएका छन् भने सो जग्गा प्रकरणमा नाम जोडिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन् ।
एमाले सांसद घिमिरेले शेरादरबारको जग्गा विवादबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए । ‘शेरादरबारबारे भएको के हो रु गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ’, एमाले सांसद घिमिरेले भनेका थिए ।
गृहमन्त्रीले अन्तिममा जवाफ दिने बताएपछि प्रचण्डले अख्तियार ऐन संशोधन विधेयक र एमाले सांसद घिमिरेले उठाएको विषयमा आफ्नो धारणा रोखका थिए ।
प्रचण्डले भने, ‘राज्यको जमिन व्यक्तिको नाममा गएको छ भने कानून बमोजिम ल्याउनुपर्छ । छानबिन गर्दै जाँदा प्रचण्ड नै देखिएको छ भने पनि छानबिनको दायरामा ल्याऊँ। ललिता निवास जस्तै शेरा दरबारको जग्गा पनि कानूनविपरीत भए सरकारको नाममा फिर्ता ल्याउनु पर्छ । म यसलाई लागि सहयोग गर्छु, र सरकारलाई धन्यवाद पनि भन्छु ।’
गृहमन्त्री लेखकले शेरा दरबारको जग्गाबारे अनुसन्धान भइरहेको बताउँदै कानून बमोजिम कारबाही हुने बताए । कुनै व्यक्ति र कम्पनीको नाममा गएको छ भने फिर्ता हुने बताउँदै गृहमन्त्री लेखकले भने ‘समितिका सदस्य एवं आदरणीय हाम्रो नेता पुष्पकमल दाहाल प्रचण्डलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँले सरकारलाई धन्यवाद दिन तयार भएर बस्नुभएको छ । सरकारले गर्नुपर्ने काम गर्छ र धन्यवाद दिन तयार भएर बस्दा हुन्छ।’