सर्लाही । बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
सर्लाहीको बलरा नगरपालिका– ९ स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) छतौनामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको बसको ठक्करबाट मृत्यु भएको हो ।
गए राति करिब ९ः१५ बजे बा.प्र.०१–००६ ख २००४ नम्बरको बसले तुलाधरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल पु-याइएको थियो । तर, राति १०ः०५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि बस चालक र सहचालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ। बस घटना स्थलमै राखिएको छ ।
घटनाको थप अनुसन्धान र कानूनी प्रकृया अगाडि बढाउन सर्लाहीका प्रहरी प्रमुखसहितको टोली घटनास्थल पुगेको छ ।




















